खेलकुद मन्त्रीलाई धनराजको कटाक्ष: राजीनामा पत्र पानीले भिज्ला, ०८४ सम्म प्लाष्टिकको टेपले बाँधेर खल्तीमै राख्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरूङले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै राजीनामा पत्र पानीले भिज्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल गर्दै कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले २०८४ को चुनाव अघिसम्म राजीनामा पत्र खल्तीमै सुरक्षित राख्न मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् ।

गुरुङले प्रतिनिधिसभा बैठकमा भने, ‘युवा तथा खेलकुद मन्त्रालयको बजेटको विषयमा साह्रै धेरै टिप्पणी पनि गर्न चाहन्नँ । हाम्रो युवा तथा खेलकुद मन्त्रीले खल्तीमा फेरि राजीनामा पत्र नै बोकेर हिँड्नुभएको छ । त्यसैले धेरै कडा पनि बोल्नु भएन यहाँबाट, यहाँ कडा बोल्दा उहाँको खल्तीबाट फुत्रुक्क राजीनामा पत्र निस्क्यो भने अलिक गाह्रो होला !’

उनले राजीनामा पत्रलाई ८४ को चुनावसम्म बाँधेर बलियोसँग राख्न सुझाए ।

उनले थपे, ‘तैपनि उहाँको खल्तीबाट राजीनामा पत्र निस्किहाल्यो भनेपनि कतिलाई लाग्नसक्छ प्रधानमन्त्रीलाई अफ्ठ्यारो पर्नसक्छ कि, पर्दैन ? कतिलाई लाग्नसक्छ उहाँकै मन्त्री पद जाने हो कि ! जाँदैन त्यो पनि । तर, उहाँको खल्तीबाट राजीनामा पत्र निस्किहाल्यो भने कतै पानीले भिज्छ कि भन्ने मलाई चिन्ता हो । त्यसैले सुरक्षित नै राख्नुस् । बरु प्लाष्टिकको टेपले बाँधेर ०८४ को चुनावसम्म बाँधेर राख्नुस् भन्ने मेरो आग्रह छ । त्यसैले कडा टिप्पणी गर्दिनँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सरकार पुरातन र कर्मकाण्डी हिसाबले चलेको र आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए । उनले राजीनामा पत्रमा मिति मात्रै राख्न बाँकी रहेको बताएका थिए । पछिल्लो समय सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै रास्वापका मन्त्रीहरूले धम्की दिन थालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार