बुधबार पनि अन्तर्वार्तामा गएनन् धितोपत्र बोर्डका तीन उम्मेदवार, प्रक्रिया रद्द गर्ने तयारी

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा पारेका पाँचजनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, दुई जना मात्रै उपस्थित भए ।

पाँच उम्मेदवार छानिएकोमा तीन जना नगएपछि बुधबार (आज) प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएकोमा उनीहरु आज पनि उपस्थित भएनन् ।

यसरी नजानेमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन् ।

नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले यो संख्या नपुग्ने देखाउन अन्तर्वार्तामा छानिएकामध्ये तीन जना सहभागी नभएको बुझिएको छ ।

स्रोतका अनुसार ९ बजे बोलाइएको अन्तर्वार्तामा कोही पनि नआएपछि सिफारिस समितिले रद्द गर्ने प्रक्रिया सुरु गरेको छ । सिफारिस गर्ने उम्मेदवारहरुको संख्या नै नपुगेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको समिति नै रद्द हुने अवस्थामा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार