आफ्नो निर्देशनपछि ८२५ शिक्षकले दलको सदस्‍यता त्यागेको शिक्षामन्त्रीको दाबी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागेको दाबी गरेकी छन् ।

मंगलबार मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक प्रस्तुत गरेकी हुन् ।

त्यस्तै आफू मन्त्री भएको १०० दिन अवधिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उनले उल्लेख गरिन् ।

शिक्षामा दलीय राजनीति हुनुहुँदैन भनेर सुरु गरेको काम सन्तोषजनक नभएको उनको भनाइ छ । ‘तर यो सुरुवात हो, यो गर्नुपर्ने काममा छ । यो काम गर्नको लागि सबैले सहयोग गर्नुभयो भने चाँडै हुन्छ । यो सरकारको मात्रै हो भन्यो भने गाह्रो हुन्छ’, मन्त्री श्रेष्ठले भनिन् ।

मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको मन्त्री श्रेष्ठले बताइन् ।

उनले हाल संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक कहिले पारित हुन्छ भनेर आफूले भन्न नसक्ने बताइन् ।

‘हामी कार्यपालिकामा छौं । विधेयक व्यवस्थापिकामा छ । मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेका छौं । समितिले हरेक प्रदेशमा गएर छलफल गर्ने कुरा भएको थियो । समितिले त्यो काम गरिरहेको छ भन्ने लाग्छ । तर विधेयक अहिले आउँछ भन्ने प्रश्न सोधिन्छ । त्यो चाहिँ मेरो हातमा छैन’, उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार