कर्णालीका सडकमा बजेट नछुट्ट्याइए संसद् भवन घेराउ गर्ने चेतावनी

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेको बताउँदै उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए ।

‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु,’ उनले भने, ‘यदि यही तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुुरा म सरकारलाई भन्न चाहन्छु ।’

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार