बैतडीमा भएको ट्रक चालक हत्यामा शिक्षिकासहित दुई विद्यार्थी पक्राउ, एक अझै फरार

ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ ।

पाटन नगरपालिका-६ का ५१ वर्षीय वीरभानसिंह विष्टको शव पाटन-पञ्चेश्वर-मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको थियो । उनी असार १ गतेदेखि बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार वीरभानको हत्या आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी विष्ट, पाटन नगरपालिका–१,का दुई जना विद्यार्थी राजेन्द्र भट्टराई र किशोर भट्टराई पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइकलमा शव लैजान २० हजार रुपैयाँ दिएको खुलेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६, का अटोरिक्सा चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

डीएसपी गिरीका अनुसार वीरभानको हत्या भागरथीको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रक चालक वीरभान शनिबार राति महिलाको घरमा पुगेको देखिन्छ । केही समयपछि अटोरिक्सा चालक पाटन नगरपालिका–६, का आशिष पहरी पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि वीरभान विष्टको शव मोटरसाइकलमा राखेर पाटन पञ्चेश्वर सडक खण्डको घागा खोलामा फालिएको अवस्थामा सोमबार फेला परेको छ । महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका राजेन्द्र र किशोरको प्रयोग भएको डीएसपी गिरीले बताए ।

आरोपित शिक्षिकालाई प्रहरीले सोमबार बिहान ९ बजे घरबाटै पक्राउ गरेको हो भने घटनापछि बैतडीबाट फरार भएका राजेन्द्र र किशोरलाई डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा भनिएका अटो चालक पहरीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

आइतबार दिनभरि महिलाले घरभित्र सरसफाइ गरेको भेटिएको छ । शव भने आइतबार राति प्लास्टिकमा बेरेर फालिएको प्रहरीले आशङ्का गरेको छ । सोमबार बिहान स्थानीयले खेतको आलीमा रगतका टाटासहित घिसारेको जस्तो देखेका थिए । खेतको आलीमा घिसारिएको सङ्केतका आधारमा परिवारले सोमबार बिहान मात्रै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

आरोपित महिलाका श्रीमान् केही वर्ष अघि बितेको खुलेको छ । ओरोपी महिलाका घरमा एक बालक अपाङ्ग छन् भने अर्का ८ कक्षामा पढ्दै आएका बालक छन् । आरोपित महिला स्थानीय सहस्रलिङ्ग आधारभूत विद्यालयमा राहत शिक्षिका रहेको खुलेको छ ।

तीन दिनदेखि बेपत्ता पुरूषको शव खोलामा भेटियो, हत्या आरोपमा महिला पक्राउ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार