धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामै गएनन् उम्मेदवार, छनोट प्रक्रिया नै रद्द हुने सम्भावना

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचजनामध्ये दुईजनाले मात्र प्रस्तुती र अन्तर्वार्ता दिएका छन् ।

छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए । हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई भने अन्तर्वार्तामै सहभागी भएनन् ।

आइतबार राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँचजनालाई बोलाइएको थियो । नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’

पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको हो ।

आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरण दिनेहरूलाई नै व्यापारिक घरानाले सम्भावित उमेदवार भनेर पठाएको हुन सक्ने अनुमान गरिएको छ । केही दिनअघिदेखि नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा बार्गेनिङ भएको र त्यसका लागि सन्तोष नारायणलाई नै अध्यक्ष बनाइने कुरा चलेको थियो ।

अध्यक्षका आकांक्षीहरूसँग भेट गर्दा पनि उनीहरू अहिले ठूलो चलखेल भएको भन्दै आएका थिए । त्यही भएर पनि आफ्नो पक्षमा नतिजा नआउने देखिएपछि उनीहरू आइतबारको छनोट प्रक्रियामा सहभागी हुन नसकेको अनुमान गर्न सकिन्छ ।

पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ । अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति गर्दा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्ने व्यवस्था उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार