कहाँ हरायो नेपाल भित्रिएको ३ लाख डोज कोभिसिल्ड खोप ?

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो । स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ । पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो ।

कोभिसिल्डको एक भायल खोपमा ६.३ मिलिलिटर औषधि हुन्छ। खोपको एक डोजमा ०.५ मिलिलिटर दिइने भएकाले एक भायलबाट १० अथवा ११ डोज खोप लगाउन पुग्छ । नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हिसाबले एक भायलबाट १० डोज खोप लगाउँदा २३ लाख ४८ हजार डोज र ११ डोज खोप लगाउँदा २५ लाख ८२ हजार ८ सय डोज खोप लगाउन पुग्छ ।

खोप केन्द्र्रअनुसार केही फरक भए पनि नेपालका अधिकांश खोप केन्द्रमा हरेक भायलबाट ११ जनालाई खोप लगाइएको छ। यसरी हिसाब गर्दा कुल २५ लाख ८२ हजार ८ सय डोज कोभिसिल्ड खोप नेपालमा उपलब्ध भएको देखिन्छ । तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको हिसाबले झन्डै ३ लाख डोज खोपको हिसाबकिताब देखिँदैन ।

प्रतिभायल १० डोज खोप लगाइएको अवस्थामा पनि कुल ६४ हजार ६४६ डोज खोप प्रयोगको तथ्यांक देखिँदैन । विज्ञका अनुसार अन्य खोपको हकमा एक प्रतिशतको हाराहारीमा खोप खेर (वेस्टेज) जाने गर्छ । तर कोभिसिल्डको हकमा खोप खेर जाने प्रतिशत नगण्य छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार