नेपालका ९९ प्रतिशत वडा कुनै न कुनै प्रकारको जोखिममा

नेपालका स्थानीय तहका ९९ प्रतिशत वडाहरूमा कुनै न कुनै प्रकारको जोखिम भएको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ः सामुदायिक प्रतिवेदन’ मा नेपालका ९९ प्रतिशत वडामा कुनै न कुनै प्रकारका जोखिम रहेको देखाइएको छ । देशभर रहेका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ६ सय ६४ वडा जोखिममा रहेको अध्ययनले देखाएको हो । ती वडामा १६ प्रकारका प्राकृतिक विपद् वा प्रकोपको जोखिम के कस्तो छ भनी प्रश्नावली तयार पारी पठाइएको थियो ।

‘सामुदायिक प्रश्नावलीमा १६ प्रकारका प्राकृतिक विपद वा प्रकोपको खतरा तथा भू–धरातलीय जोखिम राखी वडामा भएका कुनै पाँच जोखिम प्राथमिकतामा आधारमा सोधिएको थियो,’ प्रतिवेदनमा उल्लेख छ, ‘नेपालमा भएका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ६ सय ६४ वडा अर्थात् करिब ९९ प्रतिशत वडाहरूमा कुनै न कुनै प्रकारको जोखिम रहेको देखियो । सबैभन्दा बढी बाढीको जोखिम ६३.६ प्रतिशत वडामा र सबैभन्दा कम हिमताल विष्फोटनको जोखिम १.२ प्रतिशत वडामा रहेको देखिन्छ ।’

प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका वडाहरू पहिरोको जोखिम रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । मधेस र लुम्बिनी प्रदेशका वडाहरू बाढीको जोखिममा रहेको देखिएको छ ।

तथ्यांकअनुसार सातै प्रदेशमा गरी ४ हजार २ सय ८६ वटा वडा बाढीको जोखिममा रहेका छन् ।

ध्ययनमा बाढी, पहिरो, भूक्षय, डुबान, आँधीरहुरीबतास, चट्याङ, असिना, अतिवृष्टि, खण्डवृष्टि, लू, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (बस्तीमा), वन डढेलो र हिमताल विस्फोट जस्ता विपद्का घटनलाई समेटिएको थियो ।

अध्ययनका क्रममा ७९ वटा वडाले आफ्नो वडामा कुनै पनि प्रकारको जोखिम नभएको बताएका छन् । यो भनेको नेपालमा रहेका कुल वडाको १.२ प्रतिशत हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार