काठमाडौँमा आज यो वर्षअन्तर्गत अहिलेसम्मकै उच्च तापक्रम

काठमाडौँ उपत्यकाको तापक्रम आज (शनिबार) यस वर्षअन्तर्गत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियसमा उक्लिएको हो। ‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मको सर्वाधिक तापक्रम हो’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।

आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने अनुमान गरिएको थियो, तर वर्षा हुन नसक्दा तापक्रम बढेको उनको भनाइ छ। यसअघि यो वर्षअन्तर्गत काठमाडौँ उपत्यकाको हालसम्मको सबैभन्दा बढी तापक्रम ३४.४ डिग्री सेल्सियस थियो। जुन तापक्रम गत जेठ २८, १७ र जेठ ११ गते गरी तीनपटक देखिएको थियो। आज (असार १ गते) त्यो रेकर्ड पनि ब्रेक भएको हो।

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने २२.५ डिग्री सेल्सियस छ। काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत अहिलेसम्मकै बढी न्यूनतम तापक्रम भने शुक्रबार २३ डिग्री सेल्सियस पुगेको थियो। मौसमविद् अर्यालका अनुसार काठमाडौँ उपत्यकाको हालसम्मकै उच्च तापक्रम (अधिकतम) भने सन् १९८९ मे ७ मा ३६.६ डिग्री सेल्सियस देखिएको थियो। ‘त्यो रेकर्ड भने अहिलेसम्म तोडिएको छैन’, उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार