सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो, राजीनामापत्र खल्तीमै छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए ।

उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । ‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’

उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा एकपटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए ।

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए । उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरूले काम पूरा गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार