संखुवासभामा पहिरोले बगायो तीनवटा घर, चट्याङ लागेर एक महिलाको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अविरल वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोला बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

उनका अनुसार जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन् । त्यसैले भौतिक क्षतिमात्र भएको हो ।

यस्तै संखुवासभाकै चिचिला गाउँपालिका–२ आहालेमा गएराति परेको चट्याङले लागेर स्थानीय ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक लामिछानेका अनुसार राति करिब ११ बजे परेको चट्याङले लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको हो । घरभित्रै सुतिरहेको बेला उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार