एनआरएन अष्ट्रेलियाको अध्यक्षमा डा. रेग्मीको उम्मेदवारी

लोकप्रिय व्यक्तित्वको छवि बनाएका रेग्मीको उम्मेदवारीले नेपाली समुदाय उत्साहित

एनआरएन अस्ट्रेलियाको आगामी कार्यकालको अध्यक्षको प्रत्याशीका रूपमा डा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । आउने जुलाई ३१ तारिखमा हुने चुनावका लागि उनले ‘हाम्रो एनआरएन अनि राम्रो एनआरएन’ भन्ने नाराका साथ आफूलाई अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।

वर्तमान कार्यसमितिमा प्रवक्ता एवं महासचिवका रूपमा रहेका डा. रेग्मी अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर हुन् । इन्जिनियरिङमा विद्यावारिधि गरेका डा रेग्मीले विभिन्न सामाजिक कार्यमार्फत अष्ट्रेलियामा रहेको नेपाली समुदायका बिच लोकप्रिय व्यक्तित्वको छवि बनाएका छन् । डेमोक्रयाट समूहबाट चुनावी मैदानमा उत्रिएका उनले यस पटक आफूलाई अध्यक्षको उम्मेदवारको रूपमा अघि सार्दा सबैखाले विचारका व्यक्तिहरूलाई समेत टिममा सामेल गराएर चुनावमा होमिएको बताउँछन् । एनआरएनएलाई साझा चौतारीका रूपमा अघि बढाउन सबैको समान सहभागिता आवश्यक रहेको भन्दै यसमा साथ दिन डा. रेग्मीले अष्ट्रेलियामा रहेको नेपाली समुदायसँग आग्रह गरेका छन् ।

परोपकारी कार्य गर्न आउने मनसायमा मेरो र तेरो हैन हामी सबैको भन्ने भावना बोक्नुपर्छ भन्ने आफ्नो मूल मन्त्र भएको बताउने रेग्मीले राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बनाउने उद्देश्यमा दृढ संकल्पित छन् । एनआरएन अभियानमा लागेको एक दशक र दुई कार्यकालमा पदाधिकारी भएर बटुलेको अनुभवलाई समेटेर संस्थालाई थप उचाइमा पुर्‍याउने उनको लक्ष्य रहेको छ । एनआरएन अभियानको एउटा सिपाहीको रूपमा अगाडि बढ्दै गर्दा मन वचन र कर्मले संस्थाको हित र उन्नति अनि प्रगतिको बाटोमा अगाडि बढाउने रेग्मीको भनाई छ ।

त्यस्तै उनले एनआरएन अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर हाम्रो (सबैको) अनि राम्रो (समान सहभागिता) हुने मेरो टिमलाई विजयी गराउन सबैमा अपिल गरेका छन् ।

विदेशी भूमिमा विभिन्न समयमा आइपर्ने दुःख र अप्ठ्यारामा हात र साथ दिने तथा नेपाली भाषा संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने कार्यमा आफूलाई सधैँ सक्रिय राख्ने डा. ज्ञानेन्द्र रेग्मी सबैका प्रिय मानिन्छन् । नेपाली समुदायबिच लोकप्रिय व्यक्तित्वको छवि बनाएका डा. रेग्मीको उम्मेदवारीले अष्टेलियाको नेपाली समुदायमा समेत उत्साह देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार