एन आई सी एसिया बैंक र बैंकर्स संघबीच सहमति

पछिल्लो केही समयदेखि एन आई सी एसिया बैंकले ल्याएको धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नतिप्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) अन्तर्गतको योजना बन्द हुने भएको छ । अन्य बैंकहरुले भन्दा बढी व्याजदर उपलब्ध गराएर आम जनतामा लोकप्रियता हासिल गरेपनि नेपाल बैंकर्स संघ उक्त योजनामा असन्तुष्ट बनेपछि राष्ट्र बैंकको मध्यस्थतामा यो योजना स्थगित गर्ने सहमति गरेको हो । बढी व्याजदर दिँदा अहिलेको अवस्थामा वित्तीय क्षेत्रमा विचलन आउने भएपछि एनआईसी एसियाले यस्तो निर्णय गरेको हो ।

सोमबार साँझ राष्ट्र बैंकमा भएको छलफलमा एनआईसी एशिया बैंकले अरु बैंककै जस्तो ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको विवाद मिलेको हो । अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ । यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ । संघले बचतमा अधिकतम आठ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत मात्र व्याजदर दिने आपसी सहमति गर्दै आएको छ ।

‘बैंकिङ क्षेत्र संवेदनशील भएकाले बाहिर नकारात्मक चर्चा हुनेगरी विवादमा नआउनुहोस् भनेर राष्ट्र बैंकले भनेपछि हामीहरुले पनि त्यहि गर्ने निर्णय गरेका हौं,’ एनआईसी एशियाका प्रवक्ता सुधिर पाण्डेले भने । एनआर्इसी एशियाले तत्काल व्याजदर घटाउन समस्या हुने भन्दै शुक्रबारसम्म समय लिने प्रतिवद्धता गरेको छ । आगामी दिनमा परिस्थितिअनुसार संघकै निर्णयअनुसार व्याजदर निर्धारण गरिने पनि पाण्डेले जानकारी दिए  । साथै एनआइसीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णयले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । नचाहँदा नचाहँदै पनि यो निर्णय वित्तीय क्षेत्रमा असन्तुलन नआओस् भन्ने उद्देश्यले गरेको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related posts

Leave a Comment