साउन ३ मा प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस

सरकारले सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउन ३ गते आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने गरी मिति तोक्नुभएको थियो तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा ब्युँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो । त्यस्तै प्रवक्ता कार्कीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा अन्य एजेन्डामा भने छलफल नै नभएको प्रवक्ता कार्कीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार