निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई क्षमा गर्न नसकिने बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने बताएका हुन् । आफूलाई कुनै गल्तीविना अकारण हटाइएको ओलीको दाबी थियो ।
उनले आत्मालोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको पनि प्रष्ट पारे । ‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका हुन् ।
ओलीका समर्थकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका छन् ।