मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार राति जन्मिएकी शिशुलाई घाँटी थिचेर हत्यापछि खाल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र श्रीमान् पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीले २५ वर्षीया खुश्बु मण्डल, उनका श्रीमान २८ वर्षीय अरुण मण्डल, खुश्बुका बुवा ५० वर्षीय नागेश्वर मण्डल र आमा ४८ वर्षीया उर्मिला मण्डल पक्राउ गरेको हो ।
मोरङको रङ्गेली नगरपालिका – ५ आँपगाछीकी खुश्बुले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् । छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ । घटना लुकाउन श्रीमान र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए । तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए ।
उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो । अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए । तर सोमार राति खुश्बुले शिशु जन्माएपछि आकस्मिक रूपमा परिवारै मिलेर हत्या गरेको खुलेको छ ।