देउवा नेतृत्वको सरकारका ४ मन्त्रीको सपथ, बाँकी भोलि टुंगो लाग्ने

एमालेलाई समेत सरकारमा सहभागि गराउने तयारीमा माधव नेपाल

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । यसबाहेक नेपाली काँग्रेस र माओवादी केन्द्रबाट मन्त्री बन्नेको टुंगो नलागेकाले आज ४ जनाको मात्रै सपथ ग्रहण भएको हो ।

माओवादी केन्द्रका तर्फबाट शर्मा र भुषालसँगै देव गुरुङ र देवेन्द्र पौडेललाई सरकारमा पठाउने अध्यक्ष प्रचण्डको तयारी थियो । तर, आकांक्षी बढेकाले पौडेल र गुरुङको विषयमा भोलीमात्रै टुंगो लाग्ने खुमलटारनिकट स्रोतको भनाई छ ।

यस्तै देउवा नेतृत्वको सरकारमा सहभागिताका लागि जनता समाजवादी पार्टीले समेत आन्तरिक विवादलाई कारण बनाएर निणर्य लिन सकेको छैन भने, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमालेलाई समेत यहि सरकारमा सहभागि गराएर राष्ट्रिय सहमतिको सरकार बनाउने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुले बताउने गरेका छन् ।

तर, एमालेभित्रको जारी विवादको निकास खोज्ने सहमति बनेपनि पछिल्ला घटनाक्रमले झन पेचिलो बन्दै गएकाले नेपालको यो प्रयास सफल हुने देखिदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार