अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ ।
कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेबाट ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं बाहिर पनि खोप केन्द्रका विषयमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ । उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा केन्द्रका विषयमा सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार उपत्यकाबाहिर पनि यसअघिका खोप केन्द्रबाट नै खोप लगाउने काम हुने सम्भावना रहेको जानकारी दिए ।
अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने जनाएको छ ।