राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । ‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।