नेकपा एमालेको स्थायी कमिठी बैठक आज बोलाइएको छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।
एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो । तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए ।
यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।
आजको बैठकमा माधव नेपाल पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
सोमबार पनि स्थायी कमिटी बैठक बोलाइएको थियो । तर बैठकले औपचारिकता प्राप्त गर्न सकेको थिएन । अनौपचारिक रूपमा नेताहरू छलफल गरेर आजसम्मका लागि सारिएको थियो ।