नमूना युवा प्रदेशसभा आज पनि जारी

सातवटै प्रदेशमा आज पनि ‘नमूना युवा प्रदेशसभा’ को अभ्यास भइरहेको छ । नमूना युवा संसद्बाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदले आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरिरहेका छन् ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवाले प्रदेशसभा सञ्चालनको अभ्यास गरिहेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यास सिकाइएका युवाले प्रदेशसभा सञ्चालन गरिरहेको बताए । उनका अनुसार आजको युवा प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

उनले युवालाई अहिलेदेखि नै संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि नमूना प्रदेशसभा कार्यक्रम गरिएको बताए । नमूना युवा संसद्बाट छनोट गरिएका प्रदेश सभामुखको भूमिकामा रहेका युवाले प्रदेशसभा सञ्चालन गरिरहेका छन् ।

प्रदेश नंं १ मा चेतन भट्टराई, प्रदेश नं २ मा गङ्गा श्रेष्ठ, वाग्मती प्रदेशमा बबिता परियार, गण्डकी प्रदेशमा मोनिका कोइराला, लुम्बिनी प्रदेशमा श्रद्धा कुँवर, कर्णाली प्रदेशमा पूर्णिमा आचार्य र सुदूरपश्चिम प्रदेशमा अर्जुन लुहारले प्रदेश सभामुखको भूमिका निभाई रहेका छन् । युवा रोजगारी, कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नमूना युवा प्रदेशसभाका विषयमा छलफल भएको बताइएको छ ।

परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । मुख्यमन्त्रीको भूमिकामा प्रदेश नं १ बाट नवीन पहाडी, प्रदेश नं २ बाट पूजाकुमारी साह, वाग्मती प्रदेशबाट अस्मि सापकोटा, गण्डकी प्रदेशबाट सन्दीप गिरी, लुम्बिनी प्रदेशबाट सुरज भट्टराई, कर्णाली प्रदेशबाट प्रशान्त लामिछाने र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरी चयन भएका छन् ।

नमूना प्रदेशसभा आजै सकेर यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसद्को अभ्यास हुँदैछ । ती युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै कुराको अभ्यास गराइन्छ । नमूना युवा संसद्मार्फत युवालाई प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र नगरसभा सञ्चालनको अभ्यास गराइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार