प्रहरी हिरासतबाट ३५ वर्षीय पशुपति फरार

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार