लमजुङ कारागारमा महिला थुनुवाद्वारा आत्महत्या

लमजुङ कारागारमा एक महिला थुनुवाले आत्महत्या गरेकी छन् । कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेकी ४८ वर्षीया फूलमाया विकले शुक्रबार बिहान कारागारभित्रै आत्महत्या गरेकी हुन् ।

दूधपोखरी गाउँपालिका ३, फुलिङगिरी घर भएकी विक वैशाख २४ गतेदेखि थुनामा परेकी थिइन् । छिमेकी ७ वर्षीय बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको मृत्यु भएपछि उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा थिइन् । शुक्रबार बिहान करिब ५ बजेतिर शौचालयको देवलमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

ती महिलाले आत्माहत्या गरेको र अनुसन्धान भइरहेको प्रनाउ कार्कीले बताए । प्रहरीका अनुसार महिला कैदीबन्दी बस्ने ठाउँमा राति करिब १२ बजेसम्म सामान्य नाचगान थियो । जिल्ला कारागारमा कैदी र थुनुवा गरी ८८ जना छन् । महिला नौ जना छन् ।

Loading...