कार दुर्घटना हुँदा एमाले झापाका नेता प्रसाईँको मृत्यु

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईँको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान ११ बजेर ४० मिनेटमा झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

बिर्तामोड नगरपालिका १ का ४६ वर्षीय प्रसाईँ आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए । बायाँ खुट्टा र भित्री चोट लागि घाइते भएका उनको उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

कारको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ । प्रसाईँ बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंका श्रीमान हुन् । उनी नेकपा एमालेका बिर्तामोड नगर कमिटीका पूर्वअध्यक्ष समेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार