पूर्वमाओवादी नेताहरू निर्वाचन आयोग जाँदै

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज निर्वाचन आयोग जान लागेका हुन् ।

अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका हुन् ।

माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ। संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो।

यसअघि माओवादी केन्द्रले ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गरेको थियो । नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार