विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

तनहुँको देवघाट गाउँपालिका-१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा छन् । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुसी भएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा आइनपुग्दा चिन्तामा छन् ।

उनले भने, “बिजुलीको उज्यालोमा बस्ने रहर रहरमै सीमित हुनेभयो, छोरा नातिका पालामा पनि आउने छाँटकाँट देखिँदैन, बल्ल खम्बा गाडिँदैछन्, कहिले आउँछ खै ? त्यहीमाथि काम पनि छिटो गरिएको देखिँदैन, अहिले बिजुलीको प्रयोग गरेर मात्रै धेरै काम गर्ने चलन आएको छ, तर हामी भने उज्यालोमा बस्ने रहरमै रहेका छौँ ।” उनले गाउँका घरमा सौर्य ऊर्जा जडान भएको तर घाम अस्ताएपछि समस्या रहेको बताए ।

आजकल मोबाइल चार्ज गर्नसम्म असजिलो भएको उनले बताए । त्यस्तै देवघाट(२ जरमका जमुना थापा भन्छन्, “दसैँमा नै बत्ती आउँछ भनेको थियो, तार नै आइपुगेन र बत्ती बलेन, सोलारको बत्तीले घरको काममा सजिलो भएको छ, खम्बा ठडिएको छ, तार आइपुगेकै छैन, अझैसम्म पनि खै कहिले आउँछ ?” देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले हालसम्म पालिकाका सबै वडामा पूर्ण रूपमा विद्युतीकरण नभएको जानकारी दिए ।

उनले भने, “पालिकाका पाँच वडामा नै पूरै स्थानमा विद्युतीकरण भएको छैन, चालु वर्षमा नै पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।” ठेकेदारले खम्बा गाड्न खाल्डो खन्ने काम ढिलाइ गर्नका साथै तार पनि आइनपुग्दा विद्युतीकरणमा अझ ढिलाइ भएको उनको भनाइ छ । देवघाटका पाँच वटै वडामा पूर्णरुपमा विद्युतीकरण नभएको अध्यक्ष थापाले जानकारी दिए । यहाँका अझै करिब पाँच सय घरधुरीमा विद्युत नपुगेको उनले बताए ।

देवघाट विश्वमा परिचित भएपनि यहाँको विकासले भने गति लिन सकेको छैन । यहाँको विकासका लागि मोटरेबल पुल नहुँदा नै मुख्य समस्या बनेको अध्यक्ष थापाको गुनासो छ । उनले भने, “पालिकाको बजेटले ठुला योजनाका पूर्वाधार विकास गर्न सक्दैन, देशको नै समस्याका रूपमा लिएर विकास गर्न सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन, यसतर्फ सङ्घीय र प्रदेश सरकारले पनि प्राथमिकता दिनुपर्छ ।”

देवघाटको विकसित मानिएको ५ नम्बर वडामा समेत पूर्ण रूपमा विद्युत पुगेको छैन । त्यस्तै १, २, ३ र ४ नं वडामा विद्युतीकरण भएको छैन । यस पालिकामा विद्युतीकरणका लागि तार तान्ने तथा खम्बा गाड्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिए ।

उनले भने, “चालु आर्थिक वर्षमा नै यस पालिकामा पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।” देवघाटमा विद्युत पुग्न साथ तनहुँ जिल्ला नै पूर्ण रूपमा उज्यालो जिल्ला बन्ने उहाँले बताए । उनले भने, “अन्य स्थानमा बिग्रने, खम्बामा समस्या आउनु सामान्य हुन्, तर देवघाटका पाँच वडामा विद्युतीकरण हुन साथ तनहुँ पूर्णरुपमा बिजुली पुगेको जिल्ला बन्छ ।”

चालु आर्थिक वर्षको असार मसान्तसम्म पालिकाको ग्रामीण वडामा पूर्णरुपमा बिजुली पुग्ने उनको भनाइ छ । उनका अनुसार हालसम्म तीन वितरण केन्द्रमार्फत तनहुँमा विद्युत प्रवाह भइरहेको छ । दमौली वितरण केन्द्रमार्फत ३२ हजार एक सय ५२, डुम्रे वितरण केन्द्रबाट १३ हजार एक सय ६४ र आँबुखैरेनी वितरण केन्द्रबाट पाँच हजार छ सय ६४ गरी तनहुँका कूल ५० हजार नौ सय ८० ग्राहकले विद्युत उपभोग गरिरहेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठका अनुसार दमौली वितरण केन्द्रका दुई चार सय ७४, डुम्रे वितरण केन्द्रका दुई हजार ६२ र आँबुखैरेनी वितरण केन्द्रका सात सय ६१ ग्राहकले बक्यौता तिर्न बाँकी रहेको उनले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार पाँच हजार दुई सय ९७ ग्राहकको दुई करोड ७० लाख ५८ हजार दुई ५२ विद्युत महसुल बक्यौता रहेको छ । बक्यौता उठाउन ताकेता भइरहेको उनले बताए ।

सम्बन्धित समाचार