प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग शनिबार बिहान ‘ब्रिफिङ’ लिएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।
ब्रिफिङमा उनीहरुले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।
शुक्रबार इपीएस प्रणालीअन्तर्गतको कोरियन भाषा परीक्षाका विषयमा आन्दोलित युवाले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगो लगाएका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास र गोलीसमेत प्रहार गरेको थियो । त्यस क्रममा प्रहरीको कुटाइ र गोलीबाट दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।