नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुनेछ । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
२०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन् । पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।
उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ । त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो । आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन् । उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाला प्रहरी वृत्तमा दिएकी थिइन् ।