ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय युवक सुजन राउतको मृत्यु भएको हो । उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।
रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो।
को हुन् प्रदर्शनकारी
प्रदर्शनमा उत्रिएका युवाहरु रोजगार अनुमति प्रणाली (ईपीएस) का परीक्षार्थी हुन् । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने भएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
तर इपीएस कार्यालयले भने अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । त्यसका विरुद्धमा १८ जनाले अदालतमा मुद्दा हालेका थिए । उनीहरूले आज बिहान ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भरेका हुन् । तर उनीहरूसँगै सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका २८ हजार भन्दा बढीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाएनन् ।
फर्म भर्न नपाउने स्थिति भएपछि अन्य युवाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।