कास्की । कास्कीमा श्रीमतीलाई जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका –७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रत्नले पोखरा महानगरपालिका–२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ। उनले रेखाको घाँटीमा तुनाले कसेर हत्या गरेका हुन् ।
रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । पछिल्लो समय श्रीमान–श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ । यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो । अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् ।
त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए । लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ ।
रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेका हुन । उनका प्रेमी भने भाग्न सफल भएका थिए । रत्न बहादुर र रेखाका दुई जना बच्चा छन् ।