कर्णाली प्रदेश सभामा एमालेको अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारको कर्णाली प्रदेशसभाको बैठक पनि अवरुद्ध गरेको छ । बिहीबारको बैठक सुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए । एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् ।

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो । बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको उचित तवरले सम्बोधन हुनुपर्ने बताए । आफ्नो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको र यस विषयमा प्रदेश सरकारले ध्यान दिन नसकेको उनले बतए । उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु केपी ओली सरकारले मात्र गरेको गरेको बताएका छन् । उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी बिग्रने गरी कर्णालीको सरकार अघि नबढोस् भन्दै सदनको काम कारवाही अघि बढाउन नदिने बताए ।

सभामुखले पटक–पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी हुनुहुन्छ । फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो ।

जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार