गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर रिटको पेसी आज

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न आज (शुक्रबार) का लागि पेसी तोकिएको छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिट निवेदनको सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ ।

अधिकारीको योग्यता के हो ?
नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरको अरु मापदण्डका साथसाथै न्यूनतम शैक्षिक योग्यता सम्बन्धी व्यवस्था छ । उक्त दफामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकको वेबसाइटमा गभर्नर अधिकारी भारतको इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्स् अफ इण्डियामा चार्टर्ड एकाउन्टेन्ट पढेको र नेपाल आएर आइक्यानको सदस्यता लिएको उल्लेख छ ।

रिट निवेदनमा गभर्नर अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेको जिकिर छ । कानूनमा स्नातकोत्तर तह उत्तीर्ण गरेकै व्यक्ति गभर्नर हुनुपर्ने भनी उल्लेख गरिएकाले समकक्षताका आधारमा योग्यता नपुग्ने दावी निवेदनमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार