मेची बहुमुखी क्याम्पसका उपप्राध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु

मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंको ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते भएका थिए ।

झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते भएका छन् । उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार