निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता माग गर्दै कर्मचारी आन्दोलित

प्रहरीले सुरक्षा दिएर महाप्रबन्धक पौडेललाई कार्यालयबाट फर्कायो

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने लागिएको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

बिहीबार कार्यालय समयमा कार्यालयभित्रै प्रदर्शनमा उत्रेका कर्मचारीहरूले निगमका महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् । नियमित कामका लागि कार्यालय पुगेका महाप्रबन्ध पौडेललाई कर्मचारीले काम गर्न रोक लगाएका थिए । सो क्रममा झडप हुने देखिएपछि प्रहरीले सुरक्षा दिएर पौडेललाई कार्यालयबाट फर्काएका थिए ।

निगमका तीन वटा कर्मचारी सङ्गठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन पनि फिर्ता नहुने भन्दै प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढङ्गले लाठी चार्ज गरी कर्मचारीहरूलाई घाइते बनाएको आरोप लगाएका छन् ।

कर्मचारीहरूले निगमको सम्पत्तिको कम मूल्याङ्कन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार