काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ का अध्यक्ष मधु तामाङले बाहिर जाने विद्यार्थीको कागजपत्र दैनिक हस्ताक्षर गर्दा दुःख लाग्ने गरेको बताए । सोमबार टिभी अन्नपूर्णसँगको कुराकानीका क्रममा आफ्नो कार्यालयमा कम्तीमा ५देखि २० जनासम्म विदेश जाने विद्यार्थी आउने गरेको जानकारी दिँदै विदेश जाने विद्यार्थीको डकुमेन्टमा हस्ताक्षर गर्दा आफूलाई दुःख लाग्ने गरेको बताए । उनले भने, ‘विदेश जाने दैनिक पाँचदेखि २० जनसम्मको डकुमेन्टमा हस्ताक्षर गर्दा दुःख लाग्छ ।’ यस्तै, उनले वडा नम्बर २ मा हाल जग्गाको हालसविक नापजाप भइरहेको जानकारी दिए । उनका अनुसार नापी विभागसँग समन्वय गरेर वडा आफैँले बजेटको व्यवस्था गरी जग्गाको नापजाँच गरिरहेको छ । हाल चार वटा टोलीले फिल्डमा नापजाँच गरिरहेका छन् । यो वर्ष वडाभित्रको जग्गा नापजाँच कार्य सम्पन्न गर्ने अध्यक्ष तामाङको दाबी छ । तामाङ निर्वाचित भएपछि करिब २ किलोमिटर पिच र ३ किलोमिटर ढलान भएको छ ।
सार्वजनिक गरिँदै आएको वडामा हाल प्रायः सबै घरमा खानेपानीको धारा पुगेको छ । बागमतीनजिकै रहेको स्यालमति खोलबाट पानी ल्याएर पिउने गरिन्छ । वडाले भीमसेनथान, शिवपुरीलगायतस्थनबाट खानेपानीको व्यवस्था गर्दै आएको छ । यस वडामा बाल सुधार माध्यमिक विद्यालय, भीमदेव आधारभूत विद्यालय, ३ वटा सामुदायिक विद्यालय छन् । वडाकै बजेटमा यस वडाको बाल सुधार माध्यमिक विद्यालयमा प्लस टु सञ्चालन हुँदै आएको छ । यस विद्यालयमा अघिल्लो वर्ष स्थापना गरेको अध्यक्ष कोष बढेर एकै वर्षमा २० लाख पुगेको छ ।
यस्तै, वडाको सक्रियतामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अन्य प्लस टु भएका विद्यालयहरूमा भ्रमण गराउने गरेको अध्यक्ष तामाङले बताए । उनका अनुसार संस्थागत (प्राइभेट) विद्यालयबाट १२ जना विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन आएका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुटमा ड्रेस उपलब्ध गराउन वडाको भूमिका रहेको छ । वडाको सक्रियतामा राष्ट्रिय वाणिज्य बैङ्कले ६ विद्यालयका लागि ६वटा कम्प्युटर उपलब्ध भएको छ । वडाको सक्रियतामा विभिन्न सङ्घ संस्थाहरूले विद्यालयलाई शैक्षिक सामग्री र केही आर्थिक सहयोग भएको अध्यक्ष तामाङले बताए । अध्यक्षे श्रेष्ठले भने, ‘ विद्यालय सञ्चालनका लागि विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गरेर अघि बढेका छौँ । यस्तै, विद्यालय सञ्चालनका लागि हामीले ५÷६ लाख राखेका छौँ । हामी नगर शिक्षा शाखाको मात्रै भर पर्दैनौँ । वडाले पनि शिक्षा बजेट व्यवस्थापन गरेको छ ।’ वडाका विद्यालयका नाममा २० रोपनी जग्गा रहे पनि आवश्यक भौतिक संरचना बन्न सकेका छैनन् ।
त्यसै गरी सामुदायिक विद्यालयमा अभिभावकको अनाकर्षण हुँदा आफूलाई चिन्ता लागेको अध्यक्ष श्रेष्ठले बताए । यद्यपि वडाका सबै विद्यालयमा गरेर ५०० भन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय पढ्छन् । वडामा नगरपालिकाबाट सञ्चालित मेयरसँग ज्येष्ठ नागरिक र उपमेयरसँग सुत्केरी महिलाजस्ता कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । वडाले विभिन्न सङ्घ संस्थाको सहयोगमा विभिन्न शिविरहरू सञ्चालन हुँदै आएको उनले जानकारी दिए । वडामा वृद्ध वृद्धा निकै बिरामी भएमा वडाले डक्टर लगेर चेकजाँच गर्ने र उपचारका लागि सिफारिस गर्ने गरेको बताए । अध्यक्ष तामाङले आम्दा नेपालसँग मिलेर महिलाहरूको स्तन क्यान्सर, पाठेघरको क्यान्सरलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उनले भने, ‘यो डेढ वर्षको अवधिमा आम्दा नेपालसँग ३ वटा र आँखालगायत सँग गरी ७ वटा शिविर सञ्चालन भएका छन् । यस्तै, वडाको हस्पिटलबाट विभिन्न शिविर पनि सञ्चालित हुँदै आएका छन् । यस्तै, वडाले वर्षमा २ पटक घरघर गएर सामान्य सुगर र प्रेसर नाप जाँच गर्ने गरेको उनले बताए । वडामै नगर हस्पिटल बन्न लागेको बताउँदै उनले हस्पिटल निर्माणका लागि प्रक्रिया अघि बढेको बताउँदै केही दिनमा शिलान्यास हुने जानकारी दिए ।
वडा नम्बर २ दूधमा आत्मनिर्भर छ । यसका अलावा वडामा कृषिका लागि अन्य कुखुरा, बङ्गुर तथा तरकारी खेती हुने गरेको अध्यक्ष तामाङले बताए । उनले भने, ‘वडा नम्बर २ दूध र खाद्यान्न, तरकारी, च्याउमा आत्मनिर्भर छ । अझै यहाँका स्थानीय यही उत्पादित खाना खान्छन् । वडा नम्बर २ मा बाहिरबाट खाद्यान्न नल्याए पनि पुग्छ ।’ कृषि क्षेत्रको प्रवर्द्धनका लागि कृषकको मागका आधारमा योजना बनाएर तालिम सञ्चालन गर्ने गरेको उनको भनाइ छ । वडाले गत वर्ष १०÷१० जनाको समूह बनाएर बाख्रा वितरण गरेको थियो । बाख्रा वितरणका क्रममा ३० प्रतिशत र ७० प्रतिशत वडाको लगानीमा सो कार्यक्रम भएको अध्यक्ष तामाङले बताए । बेलाबेला माटो जाँच, बिउँ विजन वडाबाटै वितरण गर्ने गर्छ । यस वडामा स्थानीय भन्दा पनि बाह्य कृषक बढी रहेका छन् ।
नगरसभाबाट पास गराएर कृषि औजार वितरण गरेको तामाङको भनाइ छ । वडालाई ठुला उद्योग सञ्चालन गर्ने अधिकार नभएको बताए । विगतमा वडाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरे पनि त्यसको परिणाम अपेक्षाकृत नभएको उनको भनाइ छ । आफ्नो कार्यकालमा वडाका सबै स्थानमा बाटो, खानेपानी, स्वास्थ्य र शिक्षामा परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । यस वडामा पर्यटकीय स्थलको रूपमा २ वटा गुम्बा, शिवपुरी राष्ट्रिय निकुञ्ज, राममन्दिर,स्वर्गपुरी, भीमसेननाथलगायत छन् । वडामा ठूलाठूला रिसोर्ट खुल्ने क्रम जारी छ ।