अदालतलाई प्राधिकरणको जवाफ : टीओडी मिटरको तथ्यांक छैन

डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा आधिकारिक निकायलाई टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको नेपाल विद्युत् प्राधिकरणले अदालतलाई भने त्यस्तो तथ्यांक मेटिइसकेको पत्र पठाएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा अहिले देशका विभिन्न जिल्ला अदालतहरुमा मुद्दा चलिरहेको छ । अदालतले प्राधिकरणसँग टीओडी मिटरको डेटा माग गरेकोमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुले त्यस्तो डेटा मेटिइसकेको जवाफ पठाएका हुन् । प्राधिकरणसँग अदालतले २०८० भदौ १३ मा रिलाइन्स स्पिनिङ मिल्सका सन्दर्भलाई लिएर पत्र काटेको थियो। सोही पत्रको जवाफ दिने क्रममा आफूसँग टिओडी मिटरको कुनै पनि रेकर्ड नरहेको भनेको हो ।

त्यसैगरी प्राधिकरणले मकवानपुर जिल्ला अदालतलाई दिएको जवाफ पनि समान छ। मकवानपुर जिल्ला अदालतले शिवम् सिमेन्ट्सको मुद्दामा ३० साउन २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक माग गर्ने आदेश दिएको थियो । नेपाल विद्युत् प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभागले १८ भदौ २०८० मा मकवानपुर जिल्ला अदालतलाई पत्र लेख्दै ‘ग्राहक शिवम् सिमेन्ट्स लिमिटेडको टीओडी मिटरको डेटा डाउनलोड रिपोर्ट सम्बन्धित वितरण केन्द्रमा लामो समयसम्म रेकर्ड कायम नहुने हुँदा उल्लिखित अवधिको रेकर्ड फेला पार्न नसकेको बेहोरो अनुरोध छ,’ भन्ने जानकारी गराएको थियो ।

यी दुई पत्रबाट प्राधिकरणले प्रमाण बेगर उद्योगीमाथि ज्यादती गर्न खोजेको प्रमाणित हुन्छ। प्राधिकरणले आफूसँग टिओडी मिटरको रेकर्ड रहेको सार्वजनिक अभिव्यक्ति दिए पनि अदालतलाई जवाफ दिने क्रममा आफूसँग कुनै रेकर्ड नरहेको भनेको हो । टीओडी मिटर उद्योगहरुमा जडान भएको स्मार्ट मिटर हो, जसले ग्राहकले कुन दिन, कति समय विद्युत् प्रयोग गरेको छ भन्ने वास्तविक तथ्यांक देखाउँछ । यस्तो डेटा प्राधिकरणका ठूला ग्राहकहरुलाई विद्युत् जोडिदिँदा राखेको सबस्टेसनसँगै हुन्छ, जुन प्राधिकरणकै नियन्त्रणमा हुन्छ । विद्युत् महसुल संकलन विनियमावलीको दफा १० मा टीओडी मिटर जडान भएका ग्राहकहरुको हकमा हरेक वर्षको चैत महिनामा मिटर रिडिङको अतिरिक्त अनिवार्य रुपमा डेटा डाउनलोड गरी सोको प्रतिवेदन सम्बन्धित क्षेत्रीय कार्यालय प्रमुख, कार्यकारी निर्देशकको कार्यालय, विद्युत् ग्राहक सेवा निर्देशनालयमा पठाउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार