आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गत १८ जेठको फैसलाअनुसार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा शर्माले सफाइ पाएका थिए । उनी राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी भएका थिए ।
आयोगले शर्माको जाँच अवधिमा ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतबाट शर्मासहितका प्रतिवादीहरूले आरोपित कसुरबाट सफाई पाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको ठहर छ । अख्तियारले शर्मा र कल्पना उप्रेती शर्माविरुद्धको विशेष अदालतको फैसलाउपर आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।