प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय र सल्लाहकार टिम परिवर्तन गर्ने तयारी गरेका छन् ।
छोरी गंगादाहालसहितको सचिवालय टिम एकपछि अर्को विवादमा तानिन थालेपछि सचिवालय र सल्लाकारको पुरै सेट परिवर्तन गर्ने तयारी भएको बुझिएको छ ।
बालुवाटार स्रोतले भने अन्य परिवर्तन भएपनि प्रमुख स्वकिय र प्रेस सल्लाहाकारलाई निरन्तरता दिन सक्ने बताएको छ ।
सचिवालयले गर्दा प्रधानमन्त्री थप विवादमा तानिएको, एक अर्काबिच समन्वय नभएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले यसअघि नै राजीनामा बुझाएका छन् ।
सचिवालय परिवर्तन गर्नेबारे प्रधानमन्त्रीले आन्तरिक छलफल थालिसकेका छन् ।
हाल प्रधानमन्त्रीको सल्लाहकारहरुमा रामदीप आचार्य, देवेन्द्र पराजुली, गोविन्द आचार्य, रूपक सापकोटा छन् ।यस्तै प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल, गंगा दाहाल, स्वकीय उपसचिवमा ओमकुमारी पौडेल, रमेश गुरागाई, सावित्री अधिकारी र गोकर्ण भट्ट छन् ।
यस्तै जनसम्पर्क विज्ञमा बुद्धि जिसी, स्वास्थ्य विज्ञमा दीपेन्द्र खड्का, प्रेस विज्ञमा मनहरि तिमिल्सिना, प्रेस संयोजक सूर्यकिरण शर्मा, सूचना प्रविधि विज्ञ प्रकाश रायमाझी छन् ।
प्रधानमन्त्रीको सचिवालयमा निजामतीतर्फबाट सहसचिव अर्जुन भण्डारी , शाखाअधिकृतहरू सागर केसी, सन्तोष ढुंगाना र मोहोदत्त अधिकारी छन् ।
नयाँ परिवर्तन गर्दा सचिवालयमा कसकसलाई ल्याउने भन्ने तयारी भने अहिलेसम्म शुरू भएको छैन ।