उत्तरी गोरखा जाने बाटोमा रोकिएन कटान, हेलिकप्टरबाट खाद्यान्न ढुवानी

बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाइदिएको छ । धार्चे गाउँपालिका १ यारुबगरको क्याण्टिलिभर पुलभन्दा माथि करिब दुईसय मिटर बाटो बूढीगण्डकी कटानमा परेको हो ।

क्याण्टिलिभर भन्दा केही माथि थोरै मात्र कटान भएको थियो । मान्छेहरु जोखिम मलेर हिँड्न थालेका थिए, तर रातभरिमा दुईसय मिटरभन्दा लामो बाटो कटान गरेर हिँड्नै नमिल्ने बनाइदियो’, स्थानीय विशाल हिमाली घलेले भने, ‘बूढीगण्डकीले कुनासम्म रेटेर बाटो हिड्न असम्भब बनाइदियो ।

बाटो अवरुद्ध भएपछि चुमनुब्री गाउँपालिकाका सातै वडाका बासिन्दा जगतभन्दा माथि नै रोकिन बाध्य भएका उनले बताए । यारुबगर भन्दामाथि जगत बगरमा हेलिकोप्टरले ओसारेको तारजाली भरेर बाटो खुलाउने काम जारी छ । तर यारुबगरमा बाटो बिग्रिएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको हो ।

खाद्यान्न अभाव नहोस् भनेर हेलिकप्टरबाट ढुवानी गरिएको छ । हेलिकप्टरबाट बुधबार चार टिप चामल ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् खाद्य संस्थान सिर्दिवास डिपोमा करिब दुई हजार आठ सय बोरा चामल लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार