पाल्पामा पहिरोले ६ घर बगायो : एकको मृत्यु, एक बालक बेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा परेर चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए । दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको एसपी सन्तोष कुमार भट्टराईले बताए । उनका अनुसार प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घटनास्थलसम्म पुग्न सकेको छैन । प्रहरीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार