पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए ।

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार