बजारमा तयारी लत्ताकपडाको अभाव

पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरिदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो । २०६७ को चैतपछि नेपाली व्यापारी व्यापारिक प्रयोजनमा चीन जान पाएका छैनन् ।

गर्मी मौसमका लागि आवश्यक पर्ने तयारी कपडाहरू हाफपाइन्ट, टिसर्ट, ट्राउजर लगायतको स्टक सकिन थालेको व्यापारीहरूले बताएका छन् । ‘पहिलो बजारमा लुगा नै कम छन्, त्यसमाथि उपभोक्ताले आफूले खोजेको डिजाइन तथा फेसनको लुगा नपाउने समस्या बढेको छ,’ भृकुटीमण्डपमा तयारी कपडाको व्यापार गर्ने राजेश लामाले बताए ।

बजार खुलेर मानिसको आवतजावत बढेसँगै उपभोक्ताहरू आवश्यक लत्ताकपडाको खोजीमा बजार धाउन थालेका छन् । तर आफूले खोजेको लत्ताकपडा नपाउँदा उनीहरू खाली हात फर्किनु परेको उनले बताए ।

चीन सरकारले नेपालमा कोरोनाको महामारी बढेकाले चीन प्रवेश गर्न व्यापारीलाई भिसा नदिँदा समस्या आएको लामो समयदेखि चीनबाट सामान आयात गर्दै आएका राष्ट्रिय व्यापार संघ न्युरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीले बताए । उनका अनुसार एक वर्षभन्दा बढी समयदेखि नेपाली व्यापारी सामान खरिदका लागि चीन जान पाएका छैनन् ।

शुरूशुरूमा चीन जान नपाए पनि व्यापारीले अनलाइनबाटै लत्ताकपडाको डिजाइन छनोट गरी अर्डर गर्दै आएका थिए । तर, यसरी अर्डर गर्दा कहिले नक्कली सामान पर्ने त कहिले एउटा सामान मगाएको ठाउँमा अर्कै आउने समस्या बढेकाले व्यापारीले अहिले अनलाइन अर्डर गर्न बन्द गरेको उनले सुनाए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार