स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।

इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती गरेनन् । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे ।

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार