सुजिता भण्डारी मृत्यु प्रकरण : प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश जारी

स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते

सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।

यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच आज साँझ झडप हुँदा आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित चार जना र नेपाल प्रहरीका चार जना घाइते भएका छन् । घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ ।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । उनको शव आज नै परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार