संसद पुनःस्थापना हुनेमा विश्वस्त छु, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश हुनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले संसद पुनःस्थापना भएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

संविधान र लोकतान्त्रिक मूल्यमान्यताको मर्म र भावना अनुसार प्रतिनिधिसभा पुनःस्थापना हुने र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘अहिले त झन् संविधान मिच्ने, नाङ्गै लोकतान्त्रिक मूल्यमान्यता कुल्चने काम गरेको हुँनाले अदालतले संसद् पुनःस्थापना गर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘संसद् पुनस्स्थापना मात्रै होइन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा बुझाएको पत्र र १४६ सहित सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भन्ने विश्वास मलाई छ ।’

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले संविधान त्रुटीपूर्ण रहेको स्वीकार्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए । संविधान त्रुटीपूर्ण रहेपनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व भने सबैको रहेको उनले बताए । उनले प्रदेश २ को नाम मधेश रहनुपर्ने पनि बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार