जसपा विवाद: छुट्टिने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए दुवै पक्ष

एक वर्षभन्दा टिकेन राजपा र संघीय समाजवादीबिचको एकीकरण

जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्कापक्की भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुवै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।

लामो समयदेखि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ । उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए ।

आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए । उनले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिए । उनले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको पनि बताए ।

छलफलका लागि महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र उपेन्द्र पक्षबाट उनीसहित महेन्द्रराय यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायत आयोग पुगेका थिए ।

२०७७ वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी (सपा)बीच एकीकरण भएर जसपा पार्टी बनेको थियो । एकतापछि ठाकुर र यादव गरी दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो भने डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार