माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए ।

तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो ।

प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर‍्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो ।

निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार