आइडिएफले नेपाली दूतावासलाई भन्यो- विपिन जोशी गाजामा बन्धक छन्

इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा
क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी आएको हो ।

इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा विपिन पनि रहेको जानकारी दिएको छ।
इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनी त्यहाँ हमास समूहको नियन्त्रणमा रहेको आशंकामा हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीहरूसँग परराष्ट्रमन्त्री साउदले यसअघि टेलिफोनमा संवादसमेत गरेका थिए । परराष्ट्र मन्त्रालयले हमासका मित्र मानिएका मुलुकको कूटनीतिक च्यानलमार्फत जोशीलाई पत्ता लगाउने र स्वदेश फर्काउन प्रयास गर्दै आएको थियो । जोशीको अवस्था अज्ञात हुँदा परिवार बेचैन बनेको छ । 

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार