प्रचण्ड सरकारलाई विप्लवको चेतावनी: जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नू

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउँदै सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताएका हुन् । उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए ।

“अहिले बजारमा हल्ला छ– २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त,” उनले भने, “हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कैयौँ मानिसहरू आत्तिएको जस्तो, सत्ता पनि डगमगाएको जस्तो । जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु भनेर हुन्छ त ? कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनु पर्दैन ।”

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिने दाबी गरे । देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउँदै उनले सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभनुपर्ने पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार