नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ७ गते हुने भनिएको प्रदर्शनले काठमाडौं फोहोर मात्रै हुने दाबी गरेका छन् ।
शनिबार च्यासलमा पार्टीको जनसंगठन संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेको बताए ।
‘७ गते म सुन्दैछु, एउटा कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेका छन् । मानिसहरू काठमाडौंमा मानिसहरू उतार्न । ती मानिसहरू आएर कुनै केही हुने होइन, तीनले काठमाडौं फोहोर गर्ने मात्रै हो,’ ओलीले भने ।
मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका अभियान्ताले काठमाडौंमा विशाल प्रदर्शन गर्ने भन्दै प्रचार गरिरहेका छन् । ओलीले सोही प्रदर्शनलाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।
उनले आफ्नो पार्टीको संगठनले पनि सोही दिन प्रदर्शन गर्न लागेको जानकारी गराउँदै त्यसको स्वामित्व एमालेले लिने बताए । ‘हामी मान्छे उतारेर होइन, यहाँ भएका युवा विद्यार्थी र पृष्ठभागमा अन्य शक्तिहरू पनि छन् भनेर म सरकार र दक्षिणपन्थी शक्तिहरूलाई भन्न चाहन्छु,’ उनले भने ।
देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका निम्ति आफूहरूले पनि मंसिर ७ गते युवा–विद्यार्थीको प्रदर्शन गर्न लागिएको उनले जानकारी गराए । उनले सो प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न युवा–विद्यार्थीहरूलाई निर्देशन पनि दिए ।